किन र कसरी मनाइन्छ असार पन्ध्र ?



                        
                            मानो रोपेर मुरी फलाउने दिन असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवस

नेपालमा २०६२ साल पछि आजको दिन अर्थात असार पन्ध्र लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइदै आएको छ। अधिकांश नेपालीहरूको दैनिक खाने कुरा भनेकै दाल र भात हो। यसरी धान फलाएर सारा नेपालीहरूको पेट भर्ने किसानको सम्मानको निम्ति आजको दिन मनाइने गरिन्छ। खेत हुने किसानले खेतमा गएर मनाउँछन् भने कतिपयले गमलामा धान रोपेर पनि मनाउने गर्दछन् । आजको दिन नेपालीहरूको एक महान पर्व पनि हो । नेपाली समाजमा असार 15 को दिन धान रोप्ने चलन छ भने आजको दिनलाई दही चिउरा खाएर उत्साहपूर्वक मनाउने गरिन्छ। दिनभर हिलोमा धान रोप्ने र दिउँसो एकछिन विश्राम गर्दै दहि चिउरा खाएर थकाइ मेट्ने, र त्यही दही चिहुराको शक्तिले फेरि खेत रोप्न जाने किसानको बानी रहेको हुँदा आजको दिन दही चिउरा लाई विशेष मानिन्छ । अझ गाउँघरमा छिमेकी अथवा गाउँलेहरू एक अर्काको घरमा गएर असारे भाका गाउँदै धान रोपेर खुशी बाँड्ने चलन पनि छ। आजको दिन किसानहरुका लागि खुसी र हर्ष को दिन भएकाले किसानहरुले माटोको टीका र धानको जमरा लगाउने पनि गरेका छन्। नेपाल एक कृषि प्रधान देश हो र धान नेपालीको मुख्य बाली हो। नेपालका अधिकांश, या भनौं लगभग सबै किसानहरुले धान रोप्ने गरेका छन् । तर एउटा विडम्बना , नेपालमा कृषि आधुनिकरण को जति नारा लगाइए पनि ति कुराहरु नारामा मात्र सीमित छन् र धान रोपाई अझै पनि परम्परागत रूपमा नै हुने गर्दछ। आर्थिक बर्ष ७८/७९ को पहिलो ११ महिनामा मात्र नेपालले १६.७९ अर्बको धान आयात गरेको छ। यो बर्ष २०७९ सालमा पनि "धान बालिमा जैविक विविधता उपयोग: आयात प्रतिस्थापनमा सहयोग" भन्ने नाराका सहित आजको दिन मनाइँदैछ तर जैविक विविधताको उपयोग कतिको भइरहेको छ भन्ने कुरामा चाहिँ गम्भीर भएर सोच्नुपर्ने देखिन्छ। अब भावी दिनहरुमा यी भनाइ नारामा मात्र सीमित नहोस् , किसानहरुले समयमा बीउ पाउन, पानी नपाएर विउ सुकेर जाने अवस्था नआओस् , गरिबीको कारण कोही किसान मर्न नपरोस् ।

राष्ट्रिय धान दिवसको सबैमा शुभकामना !

Post a Comment

0 Comments